बिर्तामोड । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
टाइब्रेकरमा लालीगुराँसलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।
लालीगुराँसका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेशले रोके ।
पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आर्मीले खेलको ७९ औँ मिनेटमा विपक्षी पोष्टमा सशक्त आक्रमण गरेको थियो । आर्मीका जर्जप्रिन्सले प्रहार गरेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाएका थिए ।
इन्ज्युरी समयमा आर्मीले विपक्षी पोष्टमा निरन्तर आक्रमण गर्याे । जिलेस्पीजंग कार्कीले डिबक्समा अनमार्क रहेको समयमा गरेको प्रहार महतोले विफल बनाए । लगत्तै जर्जप्रिन्सको हेडर क्रस बारमा लागेर बाहिरियो ।
लालीगुराँस पहिलो हाफमा आर्मीमाथि दबाब बनायो । ३०औं मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले आर्मीका गोलकिपरसँग वान भर्सेस वान गोल गर्न सकेनन् । ७४औं मिनेटमा टिकाराज गुरुङले प्रहार गरेको बल गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेलमा अग्रता लिने अवसर पोखराले गुमाएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली आर्मीका गोलकिपर विकेश घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बुधबार एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभि पाए । बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई एक थान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
