आहा ! रारा गोल्डकपको २५औँ संस्करण आजदेखि पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी भएको छ ।

उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहारा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सहारालाई जित दिलाउन प्रशन्न श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समय गोल गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच पनि प्रशन्न नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब सहारा क्लबले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रिती राईलाई वर्ष उत्कृष्ट खेलाडी सम्मान बाट सम्मान गरिएको थियो । उनलाई नगद ३५ हजार रुपैयाँ, सम्मान पत्र तथा दोसल्ला प्रदान गरिएको थियो । सम्मान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रदान गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत बुधबारको खेल जाउलाखेल युथ क्लब मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *