पोखरा । फ्रेन्च खेलाडी पापा आइबो केबेको ह्याट्रिक प्रेरित प्लानिङ व्वाइज युनाइटेड पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै प्लानिङ व्वाइज अन्तिम आठमा पुगेको हो ।
प्लानिङ व्वाइजको जितमा पापाको ह्याट्रिकसँगै सेनेगलका एलेक्स विलिइनले थप गोल गरेका थिए । अब सेमिफाइनल प्रवेशका लागि मंगलबार प्लानिङ व्वाइजले उज्वेकिस्तानको आभा एफसीको सामना गर्नेछ ।
खेलको २७औं मिनेटमा एलेक्सले पेनाल्टीमार्फत गोल गर्दै प्लानिङ व्वाइजलाई सुरुअती अग्रता दिलाएका थिए । साहिल केसीको प्रहार डी–एरिया भित्र योगेश गुरुङको हातमा लागेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएका थिए ।
त्यसपछि पापाले खेलको ४५औं मिनेटमा गोल गरेपछि प्लानिङ व्वाइजले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । प्लानिङ व्वाइजले दोस्रो हाफमा दुई गोल थप्यो । पापाले ५४औं र ८१औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
खेलको म्यान अफ दि म्याच पनि पापा नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अब प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
