विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहिवार सम्पन्न तेस्रो दिनको प्रि–क्वार्टरफाइनल खेलमा एपिएफलाई २-१ ले पराजित गर्दै मनाङले अन्तिम आठमा स्थान बनाएको हो ।
खेलमा सुरुआती अग्रता भने एपिएफले लिएको थियो । खेलको ११औं मिनेटमा युवराज राईको गोलमार्फत एपिएफले अग्रता लिएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ५७औं मिनेटमा रोनिश ढेके राजबहाकले मनाङका लागि बराबरी गोल फर्काए । त्यसको ९ मिनेट पनि वित्न नपाउदै सुरेश कुमालले गोल गर्दा मनाङ २-१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा मनाङ विजयी भयो ।
खेलको म्यान अफ दि म्याच मनाङका रोनिश ढेके राजबहाक घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब मनाङले सोमबार हुने क्वार्टरफाइनल खेलमा भारतको थन्डरबोल्ट नर्थयुनाइटेडसँग भेट पक्का गरेको छ ।
भोली (शुक्रबार)को खेल प्लानिङ व्वाइज युनाइटेड र फ्रेन्डस क्लबका बीच हुनेछ । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
