काठमाडौं । ग्रिनविचले १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित गर्यो । ग्रिनविचका दीक्षित थापाले निर्णायक गोल गरे । काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भइरहेको प्रतियोगितामा ब्रम्हकुञ्ज, नेक्सस, श्रमशील र गेटवे एकेडेमीले सफलता पाए ।
विश्वास गिरीको निर्णायक गोलमा ब्रम्हकुञ्जले उज्ज्वल तारालाई १–० गोलले हरायो । नेक्ससले चिरायूलाई १–० गोलले पाखा लगायो । नेक्ससका विराज दुगुले गोल गरे । श्रमशीलले बेल पुष्पलाई ३–० गोलले पन्छायो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलमा गेटवेले टाइब्रेकरमा न्यु स्टार पोलमाथि ५–४ जित दर्ता गर्यो ।
४६ टिम सहभागी नकआउट प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्
