आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार भारतको चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले सार्वधिक ५८ रन बनाए । रिटायर्ड आउट हुनुअघि उनले २० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यसैगरी सन्दिप जोराले ४४, गुल्सन झाले अविजित ३१ र कुशल भुर्तेलले १२ र दीपेन्द्र सिंह ऐरीले अविजित ९ रन बनाए । क्यानडाका लागि अजयवीर हुण्डल र जसकरण सिंहले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका लागि ओपनर नवनीत धलिवालले सार्वधिक ३६ रन बनाए । त्यस्तै श्रेयस मोभाले ३८, कनवारपुल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।
यसअघिको वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । अब शनिबारदेखि मुख्य प्रतियोगिता सुरु हुँदै छ । नेपालले समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्याण्डको सामना गर्ने छ ।
नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्ड, दोस्रो खेल १२ फेब्रुअरीमा इटाली, तेस्रो खेल १५ फेब्रुअरीमा वेस्ट इन्डिज र चौथो खेल १७ फेब्रुअरीमा स्कटल्यान्डसँग हुनेछ ।
