पोखरा । मनाङ मर्स्याङदी क्लबलाई पेनाल्टी सुटआउटको सडन डेथमा ७–६ ले पराजित गर्दै आयोजक सहारा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट र त्यसपछि सडेन डेथबाट लिइएको थियो ।
नाटकीय पेनाल्टी सुटआउटमा मनाङका लागि दिपेश गुरुङ, आशिष श्रेष्ठ, ज्ञानबहादुर पुलामी, नवराज गुरुङ, रोनिश राजबहाक, किडियोन क्रेमेको प्रहार गोलमा परिणत हुँदा कप्तान सबिन खड्काको पेनाल्टी गोलकिपर टिकेन्द्र थापाले बचाए ।
पेनाल्टीमा सहाराका लागि बिक्की चाम्लिङ राई, बिनय तामाङ, मुकुन्द नुइरे, शिशष थापा, प्रसन्न श्रेष्ठ, आशिष गुरुङ र सुशिल लामाले गोल गरे ।
खेलको म्यान अफ दि म्याच सहाराका डायनियल बादारु घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । भोली (बिहीबार) जावलाखेल युथ क्लब र उजवेकिस्तानको आभा एफसीका बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
