नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता इङ्ल्याण्डसँग ४ रनको हार ब्यहोरेको छ ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । तर, क्रिजमा रहेका सेट ब्याटर लोकेश बम र करण केसीले अन्तिम ओभरमा ५ रन मात्र बनाउन सके ।
१८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । यसैगरी, रोहित पौडेल र लोकेश बमले समान २९ रन बनाउँदा ओपनर कुशल भुर्तेल २९ रनमा आउट भए । लोकेश अबिजित रहे ।
बलिङतर्फ इङ्ल्याण्डका लियाम डसनले २ तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान १ विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्याण्डका लागि ज्याकोप बिथेलले ५५, ह्यारी ब्रुकले ५३, विल ज्याक्सले नटआउट ३९, जोस बट्लरले २६ रन बनाएका थिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ तथा शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
नेपालले अब दोस्रो खेल इटालीसँग माघ २९ गते प्रतिस्पर्धा गर्नेछ ।
