काठमाडौं । नेपाल हक्की संघको आयोजनामा जारी दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ । शुक्रबार सम्पन्न खेलसम्म १२ अंक जोड्दै गण्डकीले शीर्ष स्थान सुरक्षित गरेको हो ।

पुरुषतर्फ भने उपाधिको छिनोफानो शनिबार हुने भएको छ । गण्डकी र सुदूरपश्चिम प्रदेश समान ९–९ अंकका साथ फाइनलमा आमनेसामने हुँदैछन् । दुवै टोलीले लिग चरणमा सशक्त प्रदर्शन गरेपछि उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

महासचिव सूवर्ण श्रेष्ठका अनुसार प्रतियोगिताको समापन शनिबार हुनेछ र सोही दिन फाइनल खेल सञ्चालन गरिने भएको हो । प्रतियोगितामा पुरुषतर्फ ६ टोली तथा महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ ।

आयोजकका अनुसार दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगिताले राष्ट्रिय स्तरमा हक्की खेलको प्रवर्द्धन र खेलाडीलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *