भारत र श्रीलङ्काको संयुक्त आयोजनामा आज शनिबारदेखि सुरु हुने १०औं संस्करणको टि-२० विश्वकपमा ४८ प्रतिशत खेलाडीको उमेर ३० वर्षभन्दा माथि रहेको छ ।

क्यानडाका युवराज समरा यस प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी हुन् । उनको उमेर १९ वर्ष १३१ दिन छ । त्यस्तै, ओमानका मोहम्मद नदीम सबैभन्दा पाका खेलाडी हुन् । उनको उमेर ४३ वर्ष १५६ दिन रहेको छ ।

यस विश्वकपमा सहभागि टोलीहरुको कुरा गर्दा नेपाल र अफगानिस्तान सबैभन्दा युवा टोली हुन् । दुवै टिमको औसत उमेर २५–२५ वर्ष रहेको छ । अर्कोतर्फ न्युजिल्यान्ड र अमेरिकाका टिमहरू सबैभन्दा पाका छन् । यी दुवै टिमको औसत उमेर ३१–३१ वर्ष रहेको छ ।

नेपाली टोलीको कुरा गर्दा नेपालको १५ सदस्यीय टोलीमध्ये १४ खेलाडी ३० वर्षभन्दा कम उमेरका छन् । ३४ बर्षीय करण केसी सबैभन्दा पाका खेलाडी हुन् भने १९ बर्षका गुलशन झा सबैभन्दा कान्छा खेलाडी हुन् ।

यस संस्करणको विश्वकपमा नेपाल रहेको समुह ‘सी’ मा दुईपटकका विश्वविजेता इङ्ल्याण्ड र वेस्ट इन्डिजसहित दुई एसोसियट राष्ट्र स्कटल्यान्ड र इटली छन् । नेपालले आइतबार इङ्ल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै, फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ । नेपालले समूह चरणका सम्पूर्ण खेल मुम्बईको वानखेडे मैदानमा खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *