सुनसरी । पाहुना टोली नाइजेरियाको जस्ट जोन एफसी सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा मधेशा फुटबल क्लब, सुनसरीलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।
जस्ट जोनको जितमा ओलाय डेबिडले दुई तथा तायो, अब्दुल सलाम र बोकारे अमिदले एक-एक गोल गरे । मधेशाका लागि एक मात्र गोल निरज परियारले गरे । खेलको म्यान अफ दि म्याच जस्ट जोनका ओलाय डेबिड घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।
भोलि बिहीवारको पहिलो सेमिफाइनल खेल मेमोरी युवा क्लब, सोनापुर, सुनसरी र चात्या सा फुटबल क्लब, दमक, झापाका बीच हुने आयोजकले जनाएको छ ।
फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।
