काठमाडौं । महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते (मार्च १४) काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ ।
कार्यक्रमको आयोजना लेजर पोर्ट नेपाल ले गर्न लागेको हो। महिलाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिने यस केयरएथनमा महिलाहरूको दौड, जुम्बा तथा अन्य विभिन्न आकर्षक स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गरिनेछन् ।
आयोजकका अनुसार कार्यक्रममा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन् ।
आयोजक संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार घरायसी कामकाज र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलाहरूलाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो ।
“महिलाहरू परिवार र समाजका लागि निरन्तर खटिरहन्छन्, तर आफ्नो स्वास्थ्यप्रति सचेत हुने समय निकाल्न सकिरहेका हुँदैनन् । पिंक केयरएथनले उनीहरूलाई आफ्नै लागि पनि समय दिन उत्प्रेरित गर्ने विश्वास लिएका छौं,” उनले बताए ।
यस वर्षको कार्यक्रममा करिब २,५०० देखि ३,००० महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि चर्चित कलाकार उषा रजक लाई गुडविल एम्बासडर घोषणा गरिएको छ । उनको सहभागिताले कार्यक्रमप्रति थप ऊर्जा र आकर्षण थप्ने विश्वास गरिएको छ । यसअघि “काठमाडौं पिंकाथन” नामबाट आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई अघिल्लो वर्षदेखि अझ नेपालीपन झल्किने गरी “काठमाडौं पिंक केयरएथन” नामबाट सञ्चालन गर्न थालिएको हो ।
लेजर पोर्ट नेपाल ले सन् २०१७ देखि २०१९ सम्म लगातार तीन वर्ष उक्त कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि कोभिड–१९ महामारी तथा विविध सामाजिक–आर्थिक कारणले कार्यक्रम केही समय रोकिएको थियो । सन् २०२४ मा पुनः आयोजना गरिएको यो इभेन्टलाई २०२५ मा सफलतापूर्वक सम्पन्न गरी अहिले २०२६ मा निरन्तरता दिँदै अझ व्यापक सहभागितासहित सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजकले स्वास्थ्य–सचेत, उत्साहपूर्ण र समावेशी सहभागितामार्फत महिलाहरूको शारीरिक तथा मानसिक सुदृढतामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
