आईसिसी पुरुष टी–२० विश्वकप २०२६ अघिको पहिलो वार्मअप खेलमा नेपाल ७ विकेटले विजयी भएको छ ।
मंगलबार भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा युएइले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा अविजित ६१ रन बनाए । दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ५० रन बनाए । नेपाल ४५-३ को अवस्थामा हुँदादेखि यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन् ।
यस्तै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ८-८ रनमा आउट भए भने कप्तान रोहित पौडेलले १६ रन जोडेर रनआउट भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि सोएब खानले अविजित रहँदै सार्वधिक ३८ रन बनाए । यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाए ।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेल बिहिबार क्यानाडासँग खेल्नेछ । दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुँदैछन् ।
