सूर्य नेपाल गल्फ टुरअन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन् ।
बिहीबार बर्दिबासस्थित पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २–अन्डर ७० को स्कोर गर्दा कुल ९–अन्डर २०७ स्कोर खडा गरे ।
भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंकबहादुर कार्की र भुवनकुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२औँ उपाधि जिते । ट्रफीसँगै उनले एक लाख ७० हजार रुपैयाँ हात पारे ।
निरजले इभन–पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २–ओभर ७४ मा अन्तिम दिनको खेल सकाए । यो सँगै समग्रमा १–ओभर २१७ को नतिजामा संयुक्त रूपमा दोस्रो स्थान बाँडे । उनीहरूले जनही एक लाख दुई हजार ३३३ रुपैयाँ पुरस्कार पाए ।
जयराम श्रेष्ठले २–अन्डर ७० र धनबहादुर थापाले १–अन्डर ७१ सहित समग्रमा २–ओभर २१८ को स्कोरमा संयुक्त पाँचौँ स्थानमा प्रतियोगिता सकाए । दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे ।
दिनेश प्रजापतिले इभन–पार ७२ खेल्दा ४–ओभर २२० को स्कोरमा सातौँ स्थान प्राप्त गरे । उनले ५७ हजार रुपैयाँ पुरस्कार हात पारे । कुमार कामीले १–ओभर ७३ खेल्दै समग्रमा ५–ओभर २२१ स्कोरसहित आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे ।
सुमन परियार र सञ्जय लामा ६–ओभर २२२ स्कोरसहित संयुक्त रूपमा नवौँ स्थानमा रहे । दुवैले ४४ हजार रुपैयाँ पाए । यस्तै, रवि खड्का र बलभद्र राईले समग्रमा २२५ स्कोरसहित ११औँ स्थान बाँडे । उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते । उनले आज इभन–पार ७२ खेल्दै समग्रमा ५–ओभर २२१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले माथ दिए । २१–ओभर २३७ स्कोरसहित प्रकृत तामाङ दोस्रो भए ।
विजेता भुवनले फ्रन्ट नाइन १–अन्डर ३५ खेले । तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले । यसपछि ११औँ, १५औँ र १६औँ होलमा बर्डीको सफलता प्राप्त गर्दा १३औँ र १४औँ होलमा बोगी खेप्दै ब्याक नाइन पनि १–अन्डर ३५ खेले । उनले पहिलो दिन ५–अन्डर ६७ को कोर्स रेकर्ड बनाएका थिए भने दोस्रो दिन २–अन्डर ७० खेलेका थिए ।
निरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन–पार ३६ खेले । उनले आठौँ र १६औँ होलमा बर्डी र पाँचौँ र १३औँ होलमा बोगी खेप्दा बाँकी १४ वटा होलमा पार बचाए ।
टंकले भने फ्रन्ट र ब्याक नाइन दुवै १–ओभर ३७ मा सकाए । दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौँ र आठौँ होलमा बोगीको समान गरे । यसपछि ब्याक नाइनमा १४औँ होलमा एक सट खेर फाले ।
भुवनकुमार रोक्काले भने पाँचौँ होलको बोगीका विरूद्ध आठौँ होलको बर्डीले इभन–पार ३६ खेले । यसपछि १०औँ होलामा बर्डी प्रहार गरेका उनले ११औँ, १४औँ र १८औँ होलामा बोगी खेप्दै ब्याक नाइन २–ओभर ३८ मा सकाए ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण, मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसीले पुरस्कार वितरण गरे । सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागिता रहेको थियो ।
