भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन् ।

६५ केजी मुनी तौल समूहमा स्ट्याटिक्स तर्फ समर लामा पहिलो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै फ्रीस्टाइलतर्फ ६५ केजी मुनी तौल समूहमा संगम अधिकारी दोस्रो स्थान हात पार्न सफल भए ।

साथै महिला फ्रीस्टाइलतर्फ ईसुरा राई पहिलो स्थान हात पार्दै विश्व च्याम्पियनसिपको लागि छनोट भएकी छिन । यो नेपालको लागि एउटा ऐतिहासिक जीत तथा अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिपमा पहिलो सहभागिता हुनेछ ।  वर्कआउट लिडर तथा क्यालिस्थेनिक्स खेलाडी जगदीश चन्द्र जोशी ‘ज्याक’को संयोजकतामा नेपाली टोली ७ जनवरीमा बैंगलोर प्रस्थान गरेको थियो । 

सरकारी निकायबाट कुनै पनि सहयोग नपाए तापनि आफ्नो क्षेत्रमा र फिटनेसमा लागेका हरेक व्यक्तिहरूको साथ सहयोगले गर्दा आज नेपाली टोली यो विश्व च्याम्पियनसिपको यात्रासम्मको यात्रा गर्न सफल भएको ज्याकको भनाइ छ ।

दुई स्वर्ण र एक रजत पदकको साथमा आइतबार बेलुका टोली  नेपाल फर्कने कार्यक्रम रहेको छ । स्वर्ण पदक विजेता खेलाडीले रुसमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता हुने मौका पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *