काठमाडाैं । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ । ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो ।
नेपाली गल्फ इतिहासमा यो च्याम्पियनसिपले विशेष महत्व राख्नेछ । एमेच्योर गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिता हुँदैछ । त्यसैले यसलाई नेपाली गल्फको नयाँ अध्याय मान्न सकिन्छ । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ ।
एमेच्योर गल्फको प्रवद्र्धन तथा उदीयमान गल्फरहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस च्याम्पियनसिपमा ९ वा सोभन्दा कम ह्यान्डिक्याप भएका एमेच्योर गल्फरहरूले सहभागिता जनाउन पाउने नियम रहेको छ । ३६ होलको कुल ३८ खेलाडीको हुनेछ। स्ट्रोक प्ले फम्र्याटमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार, २० हजार र १६ हजार नगद हात पार्नेछन् । शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पहिलो पटक एमेच्योर गल्फरलाई नगद पुरस्कारको सोच सहित हुने प्रतियोगिताको बारे प्रायोजक देवकुमार राईले नेपालमा एमेच्योर गल्फको विकासमा ठोस योगदान पु¥याउने उद्देश्यले च्याम्पियनसिप सुरु गरिएको बताए । उनले एमेच्योर गल्फरहरूले प्रायः ट्रफी मात्र पाउने भएकाले आर्थिक भार कम गर्न नसक्ने बताउँदै नगद पुरस्कारले खेलाडीलाई सहयोग पुग्ने र खेल खेल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अर्का प्रायोजक दिपेन्द्र राईले एमेच्योर गल्फरहरूको स्तर बढाउन, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने बनाउनुका साथै भविष्यमा प्रोफेसनल खेलाडी बन्ने र खेलकै माध्यमबाट जीविकोपार्जन गर्न सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए । दिपेन्द्रले यो प्रतियोगिता कम्तीमा पाँच वर्षसम्म निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्ध रहेको पनि जानकारी दिए । उनले यसलाई सुरूवात मात्र भएको बताउँदै भविष्यमा प्रतियोगितालाई भव्य बनाउने योजना रहेको जिकिर गरे ।
बेलायतमा रहेका नेपाली प्रवासीहरूबीच बलियो गल्फ समुदाय रहेको उल्लेख गर्दै उनले भविष्यमा यस च्याम्पियनसिपलाई राष्ट्रियस्तरको प्रतियोगितामा रूपान्तरण गर्ने लक्ष्य रहेको पनि बताए । उनका अनुसार आगामी वर्षहरूमा धरान बाहिर समेत प्रतियोगिता विस्तार गर्ने विषयमा सरोकारवाला निकायहरूसँग परामर्श गरिने समेत जानकारी दिए । प्रतियोगिताको सञ्चालनका लागि नेपाल गल्फ संघले प्राविधिक सहयोग गर्नेछ ।
पहिलो पटक नगद पुरुस्कारको थालनी सहितको डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपले उत्कृष्ट एमेच्योर गल्फरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ र नेपालमा एमेच्योर गल्फ संरचना सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
