काठमाडौं । आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा नेदरल्याण्ड्स र आयरल्याण्डले विजयी सुरुआत गरेका छन् ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्डले पपुवा न्युगिनी (पीएनजी)लाई ४१ रनले पराजित गरेको हो ।
आयरल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रनमै सीमित भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
यस्तै, आइतबारै त्रिवि क्रिकेट रंगशालामा सम्पन्न अर्को खेलमा नेदरल्याण्ड्सले जिम्बाबेलाई २२ रनले पराजित गरेको छ ।
नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो ।
जितसँगै समूह ‘बी’ मा रहेको नेदरल्याण्ड्स दोस्रो स्थानमा उक्लिएको छ । सोही समूहको अर्को खेलमा नेपाललाई पराजित गरेको थाइल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
