भक्तपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोग तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा सञ्चालित खेलाडीहरूको बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
आगामी २०औँ एसियाली खेलकुद (मिसन २०२६) को तयारीलाई मध्यनजर गर्दै सूर्यविनायक नगरपालिका–८ मा दुई दिनसम्म सञ्चालित कार्यक्रमले खेलाडीहरूको व्यक्तित्व विकासमा जोड दियो ।
खेल मैदानको प्रदर्शनसँगै खेलाडीलाई समाज र सञ्चारमाध्यममा प्रस्तुत हुने तरिका सिकाउने उद्देश्यले आयोजित प्रशिक्षणमा विभिन्न विधाका झन्डै ९० खेलाडीको सहभागिता रह्यो । कार्यक्रममा प्रशिक्षक सुलोचना सुजख्वले खेलकुद क्षेत्रमा हुन सक्ने लैङ्गिक हिंसा र त्यसको प्रतिकारका विषयमा प्रशिक्षण दिइन् । त्यस्तै, प्रकाश तिमल्सिनाले सञ्चारमाध्यमसँग प्रस्तुत हुने कला (मिडिया फेसिङ) र हसना श्रेष्ठले खेल मनोविज्ञान (स्पोर्ट्स साइकोलोजी) का माध्यमबाट मानसिक दृढताका उपायबारे जानकारी दिए ।
कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीलाई शारीरिक रूपमा मात्र नभई अधिकार र जिम्मेवारीप्रति सजग बनाउन कार्यक्रम आयोजना गरिएको बताए । सो अवसरमा नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरे ।
सहभागीका तर्फबाट मन्तव्य राख्दै पलेशा गोबर्द्धन र इभाना थापाले तालिम प्रभावकारी रहेको र यसलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पदमा रहे पनि वा नरहे पनि खेलकुद क्षेत्रको विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
