नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ ।

पुलिस र न्यु डायमण्ड एक खेल अगावै फाइनलमा स्थान बनाउन सफल भएका हुन् । बिहिवार भएको दिनको दोस्रो खेलमा न्यु डायमण्डले एपिएफ क्लबलाई ३-२ को सेटमा हराएर पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । खेलको प्लेयर अफ दि म्याच न्यु डायमन्डकी सलिना बुढा मगर घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

त्यसअघि दिनको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिस २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले विजयी भएको थियो ।

खेलको प्लेयर अफ दि म्याच पुलिसकी उषा भण्डारी घोषित भइन् । उनले पनि नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

लगातार दुई खेल जितेको पुलिस र न्यु डायमण्ड दुवैले समान ५ अंक जोडेर फाइलको यात्रा तय गरे । लगातार दोस्रो हारसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् ।

अब भोलि न्यु डायमण्ड र पुलिसबीच लिग चरणको खेल हुनेछ । यो खेलको नतिजाले लिग चरणको विजेता र उप विजेताको निर्णय हुनेछ । यस्तै आर्मी र एपिएसँग १ अंक रहेको छ । उनीहरूबीच पनि भोलि खेल हुनेछ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा ४ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोस्रो पुरस्कार मार्बल टेक्नोप्लास्ट प्रालि र तेस्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइनेछ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *