पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला खेल्ने भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३–२ को सेटमा हराउँदै फाइलमा पुगेका हुन् । 

यो सँगै पुसिल र आर्मी तेस्रो स्थानको लागि खेल्ने भएका छन् । गण्डकी शीर्ष तथा पर्वत दोस्रो स्थानमा रहेर उपाधिका लागि खेल्ने भएक हुन् । 

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो ।

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो ।

गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ। तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *