भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा पदक जित्न सफल र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेल सामग्री प्रदान गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५,००० र १०,००० मिटर दौडमा दुईवटा काँस्य पदक सहित राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषी श्रेष्ठ तथा लङजम्पमा नयाँ कीर्तिमान राख्ने सलिम देवान र सीमाकुमारी चौधरीलाई प्रोत्साहन स्वरुप सामग्री हस्तान्तरण गर्नुभयो ।
यसैगरी कार्यक्रममा उदयीमान खेलाडीहरू पूर्णलक्ष्मी न्यौपाने, निसा कार्की, नारायणी भण्डारी र मिङमार सिंह तामाङलाई पनि खेल सामग्री प्रदान गरिएको थियो । एथलेटिक्स परिवार, नेपालको संयोजनमा वितरण गरिएको उक्त सामग्रीहरू बेलायतस्थित ‘नेपाल रन युके’ बाट प्राप्त भएको संस्थाका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।
