पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघलाई पाँचौँ सेटमा हराएको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न रोमाञ्चक साथै प्रतिस्पर्धात्मक खेलमा आर्मीले तीन पाकिस्तानी खेलाडी सम्मिलित पर्वतविरुद्ध ३-२ को सेटमा जित आफ्नो पक्षमा पार्न सफल भएको हो ।
पहिलो सेट २५-२३ ले जित्दै १-० को अग्रता लिएको आर्मी दोस्रो सेट १६-२५ ले गुमाउन पुगेको थियो । पुनरागमन गर्दै तेस्रो सेट पुनः २५-२२ ले आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट १३-२५ ले गुमाएपछि खेल २-२ को बराबरी अवस्थामा पुग्यो ।
त्यसपछि, अत्यन्तै दबाबपूर्ण बनेको खेलको निर्णायक पाँचौं सेट २०-१८ जित्दै आर्मीले खेलको नजिता आफ्नो पक्षमा पार्यो । अघिल्ला तीन मध्य दुई खेलमा हार व्यहोरीसकेको आर्मीलाई आजको खेल जित्नैपर्ने दबाब रहेको थियो ।
जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । यता, चौथो खेलमा आएर पहिलो हार व्यहोरेको पर्वतले समान खेलबाट ९ अंक जोडेको छ ।

यसअघि, बुधबार नै भएको पुरुषको अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले क्रमशः खेल २५-२२, २८-२६ र ५५-१५ को सेटमा आफ्नो पक्षमा पार्यो ।
जितसँगै पुलिसले चार खेलबा ८ अंक जोडेको छ । पराजित एपीएफको समान खेलमा ६ अंक रहेको छ ।
