काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि आज टुंगो लाग्दैछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् ।

नेपाल भलिबल संघका अनुसार महिलातर्फको फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ भने पुरुषतर्फको उपाधि भिडन्त ३स्३० बजेबाट सुरु हुनेछ ।

महिलातर्फ नेपाल पुलिस क्लबले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने न्यु डायमण्ड स्पोर्ट्स युथ क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै उपाधि यात्रा तय गरेको हो ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पाँचौँ सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यस्तै, आजै पुरुष तथा महिलातर्फ तेस्रो स्थानका लागि पनि खेलहरू हुनेछन् । महिलातर्फ एपीएफ र आर्मी तथा पुरुषतर्फ पुलिस र रुकुम पश्चिम बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *