पोखरा । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण आज हुँदैछ । कार्यक्रम दिउँसो ३ पोखरास्थित सभाहलमा सुरु हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने यो कार्यक्रम गत २९ भदौमा हुने तय थियो। तर, जेन्जी आन्दोलनका कारण हुन सकेको थिएन ।

नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको थियो ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं ।

हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’

त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भने, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ ।

जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।। । पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *