विभागीय डर्बीमा एपीएफ क्लबलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
पुलिसले यस समूहको दुई खेलमा जित हासिल गर्दै ५ अंक जोड्न सफल भयो । यता, पराजित एपीएफले तीन खेलबाट ७ अंक जोडेको छ ।
सुरुआतका दुवै सेटमा २५–२१, २५–१५ ले जितेको पुलिसले तेस्रो र चौथो सेटमा २२–२५, २१–२५ ले हार ब्यहोरेको थियो भने पाँचौँ तथा निर्णायक सेटमा १५–९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
पुलिसले समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशसँग बुधबार खेल्नेछ ।
