काठमाडौंमा आजदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदैछ । पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच देशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपालबाट विभागीय नेपाल एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेल दिउँसो २ बजे सुरुहुने छ भने दोस्रो खेल साँझ ६ बजेदेखि सुरुहुने छ ।
प्रतियोगिता अगाडि एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा एपीएफ फुटबल टिमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी गरेको जानकारी दिइन् । त्यस्तै अन्य क्लबका प्रशिक्षक तथा कप्तानहरूले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाएका थिए ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।
