काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार बसेको कार्यसमितिको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो ।

संघको विधानअनुसारका क्लबहरूका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई समेत प्रतियोगितामा सहभागी हुन टिम दर्ता गर्ने सुविधा खुला गरिने एन्फाले जानकारी दिएको छ ।

यस्तै, राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग सुरु गर्ने तयारी पनि बैठकले गरेको छ । साथै, राष्ट्रिय लिग (एक वर्षका लागि) र शहीद स्मारक ए डिभिजन लिग (पाँच वर्षका लागि) का मार्केटिङ, टिकेटिङ, ब्रडकास्टिङ र डिजिटल अधिकारका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरिएको छ ।

बोलपत्र प्रक्रियाअनुसार, राष्ट्रिय लिगका लागि सात दिनको र ए डिभिजन लिगका लागि १५ दिनको सचना जारी गरिने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *