काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सुदूरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

यद्यपि, सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह चरणका अघिल्ला खेलमा सुदूरपश्चिमलाई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले सोझो सेटमै पराजित गरेका थिए ।

मधेश प्रदेशका लागि भने यो प्रतियोगिताको दोस्रो हार हो । यसअघि मधेश एपीएफसँग पनि सोझो सेटमा पराजित भएको थियो ।

एपीएफ क्लब भने एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलको पहिलो सेटमा मधेशले कडा चुनौती दिए पनि सुदूरपश्चिमले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछि भने सुदूरपश्चिम हाबी रहँदै दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१७ ले जित्दै खेल समाप्त गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *