फ्रान्स फिफा विश्वकप २०२६ का लागि छनोट

२०८२, २९ कार्तिक शुक्रबार ०८:३०

फ्रान्स फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । बिहिवार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा युक्रेनलाई ४-० ले पराजित गर्दै फ्रान्स छ्नोट भएको हो ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा माइकल ओलिसे र ह्युगो एकिटिकेले एकएक गोल गरे ।

यस खेलमा फ्रान्सले खेलको ५५औं मिनेटमा एमबाप्पेको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टीमार्फत सो गोल गरेका हुन् । ७६औं मिनेटमा ओलिसेले टोलीको अग्रता दोब्बर बनाए ।

एमबाप्पेले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८८औं मिनेटमा एकिटिकेले गोल गर्दा फ्रान्स ४-० ले विजयी भयो ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ । यता, पराजित युक्रेन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ ।

फ्रान्स विश्वकपमा छनोट हुने दोस्रो युरोपियन तथा समग्रमा २९औं राष्ट्र हो । यसअघि युरोपबाट इङ्ल्यान्ड छनोट भइसकेको छ । 

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने विश्वकपमा ४८ देशको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *