श्रीलंकाको कोलम्बोमा जारी काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार सम्पन्न लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० सोझो सेटमा पराजित गरेको हो ।
नेपाली टोलीले माल्दिभ्समाथि क्रमशः २५-७, २५-१० र २५-११ को सहज जित दर्ता गर्यो । यसअघि पहिलो खेलमा किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।
आजको जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ । चार टिम सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीमा जारी छ ।
जसमा प्रत्येक टिमले एक-अर्काविरुद्ध खेल्नेछन्। लिग चरण सम्पन्न भएपछि शीर्ष चारै टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
जहाँ शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोलीसँग भिड्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच अर्को सेमिफाइनल खेल हुनेछ ।
त्यसपछि दुई सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदा पराजित हुने टोली तेस्रो स्थानका लागि भिड्नेछन् ।
