काठमाडौं । साहसिक खेलमा रुचि बढ्दै गएको समयमा एक्टेरा नेपाल आफ्नो दोस्रो संस्करणसहित फेरि पोखराको बेगनास किनारमा फर्किन लागेको छ ।

मंसिर १३ गते हुने यो आयोजनालाई पेरिविङ्कल्स सर्भिस प्रालिले अन्तर्राष्ट्रिय एक्सटेरा प्लानेट ब्रान्डसँगको सहकार्यमा अघि बढाएको हो । एक्सटेरा विश्वभरै अफ-रोड ट्रायथलन र ट्रेल-रनिङको पहिचान बनाइएकै कारण यो आयोजनाले नेपालमा साहसिक पर्यटन र खेल दुवैलाई जोड्ने अपेक्षा गरिएको छ ।

आयोजकले आइतबार गरेको पत्रकार सम्मेलनमा पूर्ण दूरी ट्रायथलनदेखि लिएर स्प्रिन्ट ट्रायथलन, डुआथलन, मिश्रित रिले र छुट्टाछुट्टै ट्रेल रनसम्मका विकल्प समावेश गरिएको जानकारी दियो ।

पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, बेगनास वरपरको टेकाडी हुँदै २८ किलोमिटर माउन्टेन बाइक (१४/१४ किलोमिटरका दुई ल्याप) र अन्त्यमा १२ किलोमिटर ट्रेल रन रहनेछ । छोटो दूरी रोज्नेका लागि स्प्रिन्ट ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइकिङ र ६ किलोमिटर ट्रेल रन समावेश छ ।

डुआथलनमा ‘रन-बाइक-रन’ ढाँचामा ६-१४-६ किलोमिटरको दूरी रहनेछ भने मिश्रित रिलेमार्फत टोलीगत प्रतिस्पर्धाको स्वाद पनि सहभागीले लिन सक्नेछन् ।

ट्रेल रनमा १२ र ६ किलोमिटरका दुई छुट्टाछुट्टै कोर्स रहनेछ ।

यो संस्करणप्रति अन्तर्राष्ट्रिय खेलाडीको चासो उल्लेख्य देखिएको आयोजकले बताएको छ । हालसम्म ३० विदेशी खेलाडीले नाम दर्ता गराइसकेका छन् भने करिब १०० नेपालीलाई प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको छ । पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा नगद पुरस्कारसमेत राखिएको छ । दुवै विधाका महिला र पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान प्राप्तकर्ताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साहसिक खेल पर्यटनलाई नयाँ उचाइमा पुऱ्याउने उद्देश्यसहित एक्टेराले बेगनासलाई फेरि एकपटक आफ्ना प्रतिस्पर्धीहरूको मुख्य रंगमञ्च बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *