काठमाडौं । पाँचौं अन्तरस्कुल फुटसल तथा बास्केटबल प्रतियोगितामा आयोजक चेल्सी वर्ल्ड स्कुलले वर्चस्व बनाएको छ । कार्तिक २४ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल र बास्केटबलका सबै पाँच विधाको च्याम्पियनको टुंगो लागेको हो ।
लिगकम नकाउट प्रणालीमा खेलाइएको ६ दिने प्रतियोगिता बास्केटबलमा ३ विधा र फुटसलमा दुई विधा समावेश थिए । प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट ३३ स्कुलको सहभागिता थियो । च्याम्पियन टोलीले ट्रफी र मेडल हातपार्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले इन्डिभिजुअल अवार्ड पनि हात पारे ।
बास्केटबलमा टीआईए, मातृभूमी र निम्स च्याम्पियन
बास्केटबलमा ३४३ बोइजमा सहभागित १६ टोलीमध्ये फाइनलमा टीआईए र निम्स पुगेका थिए । जसमा १८-२० को अन्तरले टीआईए च्याम्पियन बन्यो । शिक्षकको पनि ३४३ विधा समावेश थियो । यसमा चेल्सीलाई पछि पार्दै मातृभूमि स्कुल ८-१४ ले विजयी भयो ।
त्यस्तै छात्रातर्फ ५x५ मा १२ टोली सहभागी भएको विधामा चाँदबाग स्कुल र निम्स फाइनलमा भिडेका थिए । यसमा ३३-२१ अन्तरले निम्स विजयी भएको प्रतियोगिता संयोजक राजन न्यौपानेले जानकारी दिए ।
फुटसलमा चेल्सीको वर्चस्व
फुटसलमा यू-१० र यू-१४ गरी दुईवटा विधा समावेश थिए । यू-१४ मा १६ टोली सहभागी भएकोमा चेल्सी वर्ल्ड स्कुल र रिलायन्स इन्टरनेशन स्कुल फाइनलमा आमनेसामने भएका थिए । यसमा चेल्सीले पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भयो । रोमाञ्चक खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ६-५ गोलअन्तरले चेल्सी विजयी भयो ।
यू-१० तर्फ फाइनलमा चेल्सी र प्रिमियर आईबी वर्ल्ड स्कुलले खेलेका थिए । यसमा चेल्सी ४-२ गोलअन्तरले विजयी बन्यो । विजेता टोलीलाई चेल्सी वर्ल्ड स्कुलकी प्रिन्सिपल छाम्बा डोल्मालगायत प्रमुख अतिथि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपाने र बास्केटबल महिला टोलीका प्रशिक्षक विकाश शाहीले बास्केटबलको पुरस्कार वितरण गरे ।
