शिवसताक्षी (झापा) । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आरएस पोखरा एफसीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक प्रहार गरिन् भने जेनिफर राना मगर, विमला विक र शर्मिला थापाले समान एक-एक गोल गरे ।

खेलको १६औं मिनेटमा जेनिफर राना मगरले गोल गर्दै अग्रता आर्मीलाई अग्रता दिलाइन् । ३३औं मिनेटमा विमला चौधरीले आर्मीको अग्रता दोब्बर बनाइन् । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले गोल गर्दा आर्मीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

दोस्रो हाफमा पनि आर्मीले थप तीन गोल गर्यो । ८५औं मिनेटमा विमला चौधरीले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । त्यसपछि ९०औं मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीलाई ५-० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा पुनः विमला चौधरीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को फराकिलो जित दिलाइन् ।

खेलको प्लेयर अफ द म्याच आर्मीकी विमला चौधरी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । अब आर्मीले फाइनल प्रवेशका लागि एपिएफ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

कुल ८ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र सार्वधिक गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *