खेल्न पाउनुपर्छ भन्दै नेपाल फुटबल खेलाडी संघको आव्हानमा बिहिवार अखिल नेपाल फुटबल संघ (एन्फा) को विरुद्ध भएको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ऐकेबद्धता जनाएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार विज्ञप्ति प्रकाशित गरेर फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको झन्डै अडाई वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य भएको जनाएका छन् ।
उनले विगतमा हुने गरेका लिग लगयतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीहरुको जीवन केही सहज भएको बताउँदै लामो समयदेखि ‘ए’ डिभिजन लिग रोकिँदा एक सय भन्दा बढीले रोजगारीकै लागि देश बाहिरिनु परेको भन्दै दुख पनि ब्यक्त गरेका छन् ।
उनले खेल्न पाउनु खेलाडीको अधिकार भएको तथ्य उल्लेख गर्दै खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व भनेर पनि सम्झाएका छन् । उनले संघ दायित्वबाट च्युत हुँदा खेलाडीलगायत त्यो खेलसँग जोडिएकाहरु वेरोजगार भएको विज्ञप्तिमा जनाइएको छ ।
खेल आयोजनाका लागि आफ्नै संघ विरुद्ध उत्रनु पर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको टिप्पणी गर्दै एन्फा नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने र समस्या समाधानका लागि पहल गर्न आग्रह पनि गरे । उनले चाँडै समस्या समाधान गर्दै फुटबल हुने वातावरण तयार पार्न एन्फालाई आग्रह पनि गरे ।
विज्ञप्तिको अन्त्यमा फुटबल खेलाडीले आफ्नो हकका लागि चलाउने सबै खाले विरोध लगायतका कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ साथ रहने प्रतिवद्धता पनि जनाइएको छ ।
