शिवसताक्षी (झापा) । विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले संकटा क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल पुलिसले दोस्रो हाफमा गरेको थियो । पुलिसका लागि मिना देउवाले ६९औं मिनेटमा पहिलो गोल गरिन् । रेखा पौडेलले ८१औं मिनेटमा गोल गरेपछि पुलिस २-० ले विजयी भयो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

शनिबारको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
कुल ८ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र सार्वधिक गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
