मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा टाडी स्पोर्टिङ क्लब, मिक्लाजुङ, मोरङ विजयी भएको छ ।
श्री सौँठा माविको खेल मैदानमा आइतबार भएको चौथो क्वार्टरफाइनल खेलमा बेलबारी- ८, मोरङलाई सडेन डेथमा पराजित गर्दै टाडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
निर्धारित समयमा दुवैबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टिमले ५–५ गोल गरे । निर्धारित समय र टाइब्रेकरमा समेत खेल बराबरी भएपछि सडन डेथमार्फत विजेताको टुंगो लागेको हो । सडेन डेथमा टाडी ८-७ ले विजयी भयो ।
निर्धारित समयको खेलमा बेलबारीका लागि अरुण लिम्बूले गोल गरेका थिए भने टाडीका लागि अनिल राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच टाडीका अनिल राई भए । उनलाई एक हजार एक सय नगदसहित मेडल प्रदान गरियो ।
प्रतियोगितामा भोलि पुस्पाञ्जली फुटबल क्लब, भाउन्ने, मोरङ र टाडी स्पोर्टिङ क्लब, मिक्लाजुङ, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ । युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका- ६ को आयोजना तथा नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा कुल आठ टोलीको सहभागिता छ ।
असोज १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक रतुवामाई नगरपालिका- १० मा अवस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कुल रहेको छ भने प्रायोजकमा काजी स्टोरका सञ्चालक चोगेन्द्रबहादुर खड्का छन् ।

