काठमाडौं । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् ।
बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्समा रिब्स च्याम्पियन बने भने एलएले फुटबलको उपाधि चुम्यो । खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७-७२ ले पराजित गर्यो ।
ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे । यस्तै, गल्सको उपाधि भिडन्तमा सुप्रिया मल्लको २१ अंकको सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१-१६ ले हरायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोड्यो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६-०, द एक्सेल्सियर स्कुललाई २-०, आयोजक ज्ञानोदयलाई ३-१ र मल्पीलाई ६-१ गोलले पराजित गरेको थियो । बृहस्पति ७ अंकसाथ दोस्रो भयो । बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो । ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित भएको थियो ।
विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको ब्वाइजमा २४ तथा गल्समा १२ टिम सहभागी थिए ।
