दुहबी । सुनसरीको दुहबीमा सोमबारदेखि शुरु भएको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा गछिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
सिमरियास्थित जनता माविको खेलमैदानमा भएको उद्घाटन खेलमा गछियाले मेमोरी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

गछियालाई जित दिलाउन पुजन चौधरीले गोल गरे भने मेमोरीका श्याम भट्टराईले आत्मघाती गोल गरे । मेमोरीका लागि बिबेक मिश्रले गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच गछियाका पुजन चौधरी घोषित भए । उनले नगद ११०० र ट्रफी प्राप्त गरे । आजको खेल गोल्डेन स्टार युथ क्लब र मधेशा युवा क्लबबीच हुनेछ ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार तथा उपविजेताले नगद २१ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल असार ३२ गते हुनेछ
