कप्तान लियोनल मेस्सीको कीर्तिमानी २ गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ ।
मियामीले आइतबार बिहान भएको खेलमा नेसभिललाई २-१ गोल पराजित गर्यो । मेस्सी एमएलएस इतिहासमा लगातार ५ खेलमा समान २ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनी यसअघि न्यु इङ्गल्याण्ड रिभोलुसनविरुद्ध लगातार ४ खेलमा २ गोल गर्ने एमएलएस इतिहासमा पहिलो खेलाडी बनेका थिए ।
मेस्सीले आफ्नो पछिल्लो ५ खेलमा मियामीका लागि १० गोल गरेका छन् । अब उनी नेसभिलका स्ट्राइकर साम सरिजसँगै एमएलएसका संयुक्त शीर्ष गोलकर्ता रहेका छन् ।
नेसभिलका लागि हानि मुख्तारले सान्त्वना गोल गरे । १७औं मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा मुख्तारले नेसभिलका लागि बराबरी गोल फर्काएका थिए ।
तर, मेस्सीले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई जित दिलाए । एमएलएसको इस्टर्न कन्फ्रेन्सको पाँचौं स्थानमा रहेको मियामीले १९ खेलबाट लिगमा ३८ अंक जोडेको छ । नेसभिल २२ खेलमा ४१ अंकका साथ तेस्रो स्थानमा छ ।
