नेताचोक टाइगर क्लबलाई हराउँदै आयोजक संयुक्त युवा क्लब सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दुहबी-१० सिमरियास्थित श्री जनता माविको खेलमैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेताचोकलाई १-० गोलले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।

आयोजकलाई जित दिलाउन बिनोद राईले पहिलो हाफको २९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । बिनोद नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ११०० र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गात सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा मधेशा युवा क्लब र युथ इलेभेन एफसी भिड्नेछन् ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार तथा उपविजेताले नगद २१ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल असार ३२ गते हुनेछ ।
