तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ८ टोली सहभागी हुने पक्का भएको छ ।

यही श्रावण २४ गतेदेखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा प्रतियोगिताका खेल हुँदैछन् ।

आयोजक लाखेजात्रा सञ्चालक समितिले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा भारतबाट आउने एकसहित कुल ८ टोली सहभागी हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च व्वाईज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमी सहभागी हुनेछन् ।

आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टीमलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गत वर्ष विजेताले ५ लाख र उपविजेतले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए । यस वर्षको विजेतलाई २ लाख र उपविजेतालाई १ लाख रुपयाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको हो ।

हरेको खेलको म्यान अफ दी म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकले क्वार्टरफाइनलमा १००, सेमिफाइनलमा २०० र फाइनलमा ३०० रुपैयाँ टिकट दर तोकेको छ । ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका व्यक्तिहरूलाई प्रमाणपत्रका आधारमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल तथा रेफ्रीको १ लाख रुपैयाँको बिमा समेत गर्ने तयारी गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको तयारी स्वरुप अहिलो प्याराफिट निर्माण लगायतको कार्य जारी रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *