एन्फा यु-१६ युथ लिगमा बिहिवार सम्पन्न खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा एपिएफले एनआरटीलाई १-० ले हरायो । एपिएफलाई जित दिलाउन प्रकाश खनालले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
जितसँगै आठ खेलमा १५ अंक जोडेको एपिएफ चौथो स्थानमा उक्लिएको छ । पराजित एनआरटी समान खेलबाट पाँच अंकका साथ १२औं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा मच्छिन्द्रले संकटा क्लबलाई २-१ ले पराजित गर्यो । मच्छिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र गोविन्द विकले गोल गरे । संकटाका लागि पेम्बा तामाङले गोल गरे ।
जितसँगै आठ खेलमा १७ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
दिनको तेस्रो तथा अन्तिम खेलमा जावलाखेलले प्लानिङ ब्वाईज युनाइटेडलाई ६–३ ले हरायो । जावलाखेललाई जित दिलाउन पुजनले सुनारले चार तथा विसाल शाही र सुजन तामाङले समान एक-एक गोल गरे । प्लानिङ ब्वाइजका लागि सुमित खड्का, अनुराग बमजन र अर्जुन मंग्रातीमगरले गोल फर्काए ।
जितसँगै आठ खेलमा १० अंक जोडेको जावलाखेल नवौं स्थानमा छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।
