विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा आइतबार ४ विद्यालय विजयी भएका छन् ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको आठौं दिनको खेलमा बाल आदर्श स्कुल, सरस्वती मावि, साइ चिल्ड्रेन होम र सनसाईन स्कुल विजयी भएर अर्को चरणमा पुगेका हुन् ।

पहिलो खेलमा बाल आदर्श स्कुलले नरग्राम माविलाई १-० गोलले पराजित गर्यो । बाल आदर्शका लागि म्यान अफ द म्याच विपिन कार्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

त्यसैगरी दोस्रो खेलमा सरस्वती माविले मदरल्यान्ड स्कुललाई ६-० गोलले पराजित गर्यो । सरस्वतीलाई जित दिलाउन साजन लिम्बुले २ तथा सुजन तामाङ, विवेक राजवंशी, निश्चल शिव र रोसल राजवंशीले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता साजन लिम्बु घोषित भए ।

तेस्रो खेलमा साइ चिल्ड्रेन होमले पोखरिया माविलाई २-१ ले स्तब्ध बनायो । साइ चिल्ड्रेनका लागि विक्रम भुजेल र सुदीप सरदारले गोल गरे भने पोखरियाका लागि एकमात्र गोल प्रकाश सरदारले गरे । खेलको म्यान फ दि म्याच पोखरियाका खगेन्द्र माझी घोषित भए ।

त्यसैगरी आजै भएको चौथो तथा अन्तिम खेलमा सनसाईन स्कुलले केएमसी स्कुललाई २-० गोलले पाखा लगायो ।सनसाइनका लागि अभय सहनीले एक गोल गरे । सनसाईनले अर्को एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको म्यान अफ दि म्याच सनसाईनका समिर लामा घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि सोमबार पनि चार खेल हुनेछन् । भोलिको पहिलो खेलमा डन बस्को स्कुल विराटनगर र बिकेभीएम स्कुल विराटनगर, दोस्रो खेलमा सहिद स्मृति आवाशीय मावि तरहरा र राधाकृष्ण मावि विराटनगर, तेस्रो खेलमा दिल्ली पब्लिक स्कुल विराटनगर र जनता नमुना मावि विराटनगर तथा चौथो खेलमा सत्यनारायण मावि विराटनगर र साई चिल्डेन होम इटहरी भिड्नेछन् ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता असार ८ गतेदेखि सुरु भएको हो ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *