विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शुक्रबार ४ विद्यालय विजयी भएका छन् ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको छैटौं दिनको खेलमा साई चिल्ड्रेन होम, बिकेभिम स्कुल, राधाकृष्ण मावि र जनता नमुना मावि विजयी भएर अर्को चरणमा पुगेका हुन् ।

आजको पहिलो खेलमा साई चिल्ड्रेन होमले कर्मवीर माविलाई सडेन डेथमा ५-४ ले पराजित गर्यो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । निर्धारित समयमा साई चिल्ड्रेनका लागि बिक्रम भुजेलले गोल गरे भने कर्मवीरका लागि रोहन कुमार सरदारले गोल गरे । खेलको म्यान अफ द म्याच साई चिल्ड्रेनका गोलकर्ता विक्रम भुजेल घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा बिकेभिम स्कुलले मोडर्न एरा स्कुललाई २-१ गोलले हरायो । बिकेभिएमका लागि अनुभव थापा र आयुष चौधरीले समान १-१ गोल गरे । मोडर्न एराका लागि युनिस कार्कीले एक गोल फर्काए ।

तेस्रो खेलमा राधाकृष्ण माविले लालीगुराँस स्कुल ४-० गोलले पाखा लगायो । राधाकृष्णलाई जित दिलाउन श्याम परियारले दुई तथा धीरजराजवंशी र क्रिस मण्डलले समान १-१ गोल गरे । खेलको म्यान अफ द म्याच राधाकृष्णका क्रिस मण्डल घोषित भए ।

आजै भएको चौथो तथा अन्तिम खेलमा जनता नमुना माविले जेसी बाल सदनलाई ६-० गोलले हरायो । जनता नमुनाको जितमा आयुष राजवंशीले तीन गोल गर्दै ह्याट्रिक पूूरा गर्दा ज्ञानु पौडेल र सबिन माझीले समान १-१ गोल गरे । जनता नमुनाले अर्को एक गोल भने आत्मघाती उपहार भएको थियो । खेलको म्यान अफ द म्याच ह्याट्रिक गोलकर्ता आयुष राजवंशी घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार पनि चार खेल हुनेछन् । पहिलो खेलमा जनपथ मावि विराटनगर र डन बस्को स्कुल विराटनगर, दोस्रो खेलमा सहिद स्मृति आवशीय मावि धरहरा र आदर्श मावि विराटनगर, तेस्रो खेलमा अर्पण स्कुल विराटनगर र दिल्ली पब्लिक स्कुल विराटनगर तथा चौथो खेलमा स्मृति इङ्लिस बोर्डिङ स्कुल निमुवा र शारदा बोर्डिङ स्कुल इटहरी भिड्नेछन् ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *