विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहिवार ३ विद्यालय विजयी भएका छन् ।
विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको पाँचौं दिनको खेलमा मदरल्यान्ड स्कुल, सरस्वती मावि र सत्यनारायण मावि विजयी भएर दोस्रो चरणमा पुगेका हुन् ।
आजको पहिलो खेलमा मदरल्यान्ड स्कुल विराटनगरले इडेन स्कुल विराटनगरलाई २-० गोलले पराजित गर्यो । मदरल्यान्डलाई जित दिलाउन प्रशान्त खड्का र समिर बस्नेतले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच समिर बस्नेत घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा सरस्वती मावि विराटनगरले पोलस्टार स्कुल विराटनगरलाई ३–० गोलले हरायो । सरस्वतीको जितमा रोजल सुनुवारले ह्याट्रिक गरे । खेलको म्यान अफ दि म्याच ह्याट्रिक गोलकर्ता रोजल सुनुवार घोषित भए ।
आजै भएको तेस्रो तथा अन्तिम खेलमा सत्यनारायण मावि विराटनगरले सरस्वती मावि झोराहाटलाई १-० गोलले पराजित गर्यो । सत्यनारायणका लागि साजिद आलमले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार चार खेल हुनेछन् । पहिलो खेलमा कर्मवीर मावि हात्तिमुडा र साही चिल्ड्रेन होम इटहरी, दोस्रो खेलमा बिकेभिएम स्कुल विराटनगर र माेर्डन एरा स्कुल विराटनगर, तेस्रो खेलमा लालीगुराँस एकेडेमी मिलन चौक र राधाकृष्ण मावि विराटनगर तथा चौथो खेलमा जनता नमुना मावि विराटनगर र जेसी बाल सदन विराटनगर भिड्नेछन् ।
वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो ।
प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।
