च्याम्पियन पेरिस सेन्ट जर्मेनले (पिएसजी) ले लिग वानमा यस सिजनको अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै पिएसजीले अक्सेरलाई ३-१ ले पराजित गरेको हो ।
पार्क डेस प्रेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन ख्विचा क्वारत्स्खेलियाले दुई तथा मार्किन्होसले एक गोल गरे । अक्सेरका लागि सिनायोकोले गोल गरे ।
खेलको ३०औं मिनेटमा सिनायोकोले गोल गर्दै अक्सेरलाई अग्रता दिलाएका थिए । तर अक्सेरले उक्त अग्रता कायम राख्न सकेन ।
५९औं मिनेटमा क्वारत्स्खेलियाले पिएसजीका लागि बराबरी गोल फर्काए । ६७औं मिनेटमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई २-१ को अग्रता दिलाए । ८८औं मिनेटमा क्वारत्स्खेलियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाए ।
जितपछि पिएसजीले यस सिजन ३४ खेलबाट ८४ अंक जोडेर लिग टुङ्गाएको छ । गत अप्रिल ५ मा एन्जर्सलाई हराउँदै ६ खेल अघि नै पीएसजीले लगातार चौथो पटक लिग वानको उपाधि जितेको थियो ।
लुइस एनरिकको टोली अब दुई फाइनल खेल्दै सिजनको ट्रफी संख्या चार पुर्याउने लक्ष्यमा छ । पिएसजी २४ मेमा फ्रेन्च कप फाइनलमा रेम्ससँग तथा ३१ मेमा च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग भिड्नेछ ।
पिएसजीले यसअघि फ्रेन्च सुपर कप जितिसकेको छ भने आउँदो जुनमा हुने नयाँ स्वरूपको फिफा क्लब विश्वकपका लागि तयारी गर्दैछ ।
