पञ्जाब किंग्स इण्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै पञ्जाब दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २३७ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो ।
लखनउका लागि आयुष बादोनीले सर्वाधिक ७४ रन बनाए । उनले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै अब्दुल समादले ४५ रनको योगदान दिए । यसबाहेक अन्य खेलाडी सस्तो रनमा समेटिए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ३ तथा अज्मतुल्लाह ओमार्जाइले २ विकेट लिए ।
त्यसअघि धर्मशालाको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर २३६ रनको योगफल तयार पारेको थियो ।
पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले सार्वधिक ९१ रन बनाए । उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे ।यस्तै कप्तान श्रेयस ऐयारले ४५ र शशांक सिंहले अविजित ३३ रनको योगदान दिए ।
लखनउका लागि आकाश सिंह र दिगभेष राथीले समान २ तथा प्रिन्स यादवले १ विकेट लिए ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको पञ्जाबले ११ खेलबाट १५ अंक बनाएको छ । पन्जाब शीर्ष स्थानको आरसिबी भन्दा १ अंकले पछि रहेको छ ।
पराजित लखनउ समान खेलबाट १० अंकसहित सातौं स्थानमा छ । लखनउको प्लेअफ सम्भावना अब कमजोर बन्दै गएको छ ।
यसअघि आइतबारै सम्पन्न पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई रोमाञ्चक एक रनले हराएको थियो ।
