भारत र पाकिस्तानबीचको तनाव र त्यसपछिको युद्धविरामपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकी खेलको तालिका घोषणा गरेको छ ।

यो सिजनको खेल १७ मे बाट पुनः सुरु हुनेछ र फाइनल खेल ३ जुनमा हुनेछ । बाँकी सबै खेलहरू छ वटा मैदानहरू- बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछ ।

भारत र पाकिस्तानबीचको तनावका कारण बीसीसीआईले आईपीएललाई एक हप्ताका लागि स्थगित गरेको थियो । त्यसबेला १८औं सिजनका ५८ खेलहरू सम्पन्न भइसकेका थिए ।

तीमध्ये धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो, जसले गर्दा उक्त खेलको कुनै नतिजा निस्कन सकेन । अब बीसीसीआईले यो खेल पुनः आयोजना गर्ने निर्णय गरेको छ । यो खेल २४ मे मा जयपुरमा हुनेछ ।

बीसीसीआईले सोमबार आईपीएल २०२५ को बाँकी १७ खेलको तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकामा दुई डबल हेडर समावेश छन् । पहिलो डबल हेडर १८ मे मा हुनेछ। सो दिन दिउँसो जयपुरमा राजस्थान रोयल्स र पञ्जाब किंग्सबीच खेल हुनेछ भने साँझ दिल्लीमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो डबल हेडर २५ मे मा हुनेछ । सो दिन दिउँसो गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ भने साँझ ७:३० बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच भिडन्त हुनेछ ।

२८ मे, ३१ मे र २ जुनमा कुनै खेल हुने छैन । आईपीएल २०२५ को प्लेअफ २९ मे बाट सुरु हुनेछ । पहिलो क्वालिफायर खेल २९ मे मा, एलिमिनेटर ३० मे मा, दोस्रो क्वालिफायर १ जुनमा र फाइनल खेल ३ जुनमा हुनेछ । यी चार खेलका लागि स्थानहरू पछि घोषणा गरिनेछ ।

आईपीएल २०२५ सिजन स्थगित हुनुअघि गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा थियो । गुजरातले ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक प्राप्त गरेको थियो । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) थियो, जसले पनि समान खेल र अंक प्राप्त गरेको थियो ।

तेस्रो स्थानमा पञ्जाब किंग्स र चौथो स्थानमा मुम्बई इन्डियन्स थिए। चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिसकेका छन् । दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्सको प्लेअफ सम्भावना भने कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *