इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नईले कोलकोतालाई २ विकेटले पराजित गरेको हो । यो हारले कोलकाताको प्लेअफ आशामा धक्का लागेको छ ।

कोलकाताले दिएको १८० रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

कप्तान महेन्द्रसिंह धोनी १७ रन बनाएर अविजित रहे । २०औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै धोनीले जित सुनिश्चित गरे । त्यसपछि अंशुल कम्बोजले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए । उर्विल पटेलले ११ बलमा ३१ रन बनाए ।

कोलकाताका लागि वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर सार्वधिक ३ विकेट लिए । हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको थियो ।

कप्तान अजिन्के राहनेले सर्वाधिक ४८ रन जोडे । ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै आन्द्रे रसलले ३८, मनिष पाण्डेले अविजित ३६ र सुनिल नराइनले २६ रन जोडे ।

चेन्नईका लागि नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

जितसँगै अंक तालिकामा पुछारमा रहेको चेन्नईले १२ खेलबाट ६ अंक जोडेको छ । पराजित कोलकाता समान खेलबाट ११ अंकसहित छैटौं स्थानमा छ । यो सँगै कोलकाताको प्ले अफ यात्रा अत्यन्त कठिन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *