इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो सेट २०-२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५-२०, तेस्रो सेट २८-२६ र चौथो सेट २६-२४ को पुनरागमन जित दर्ता गर्यो ।
चौथो सेटमा १८-२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६-२४ को जित निकाल्न सफल रहेको थियो । दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीच भइरहेको छ। पुलिस समूह ‘बी’ को विजेता र एपिएफ समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।
